You are viewing the translated version of कार्यक्रमको सञ्चालन तथा कार्यान्वयन.

Rule 12
कार्यक्रमको सञ्चालन तथा कार्यान्वयन
: (१) नियम १० बमोजिम छनौट भएका आयोजनाको कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुनेछ र त्यस्तो आयोजनाको कार्यान्वयन सोही नियमको उपनियम (९) बमोजिम रकम हस्तान्तरण भै आएको व्यहोरा यकीन भएपछि गर्नु पर्नेछ।
(२) यस नियमावली बमोजिम छनौट भएका आयोजनाको कार्यान्वयन सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनको अधीनमा रही निर्माण कार्य वा सो सम्बन्धी सेवा खुला बोलपत्रको माध्यमद्वारा वा उपभोक्ता समिति मार्फत गराउन सकिनेछ ।
(३) यस नियमावली बमोजिम निर्माण हुने पूर्वाधार महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सक्ने गरी गर्नु पर्नेछ ।
(४) यस नियमावली बमोजिम उपभोक्ता समितिबाट कार्यान्वयन हुने आयोजनामा ठेक्का वा अन्य कुनै तरिकाले काम गराउन पाइने छैन। उपभोक्ता समितिले ठेक्का वा अन्य कुनै तरिकाबाट अन्य व्यक्ति वा संस्था मार्फत काम गराएको पाइएमा निर्देशक समितिले त्यस्तो आयोजना रद्द गरी यस नियमावली बमोजिम छनौट भएको अर्को आयोजनालाई रकम उपलब्ध गराउन सक्नेछ र यसरी अन्य व्यक्ति वा संस्था मार्फत काम गराएमा त्यस्तो कामको भुक्तानी दिइने छैन।
(५) उपनियम (४) बमोजिम रद्द भएको आयोजनाको जानकारी मन्त्रालय, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र सम्बन्धित स्थानीय तहमा दिनु पर्नेछ।
(६) यस नियमावली बमोजिमका आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा आयोजना स्थल, लागत, विनियोजित बजेट, उपभोक्ता समिति वा निर्माण व्यवसायीको नाम समेतको जानकारी सम्बन्धित आयोजना स्थल, कार्यालयको सूचना पाटी तथा वेब साइटमा समेत राख्नु पर्नेछ।